पर्सुाको पर्सागढी नगरपमलिकाले २०८औं वर्षको विजयी महोत्सव मनाइएको छ । तत्कालीन ब्रिटिश सेनालाई पराजित गरेको उपलक्ष्यमा पर्सागढी नगरपालिकाले विजय उत्सव मनाउँदै आएको हो । यस वर्ष पनि मङ्गलवार नगरपालिका कार्यालयबाट विजय जुलुस निकालेर चार गाउँ झिङ्गना, बागेश्वरी, रमौली र हरपुरबीचमा रहेको पर्सागढी मन्दिरमा पुगेर समापन्न भएको थियो । महोत्सवका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नेपाल अङ्ग्रेजहरूको गुलाम हुनबाट बचाउन देशभरका अन्य किल्लाजस्तै पर्सागढी किल्ला पनि एक रहेको बताए ।
उनले नेपालमैं पर्सागढीको नाम यो किल्लाको कारण चर्चामा रहेको भन्दै पर्सागढी नगरपालिकाले आफ्नो पहिचान बढाउनको लागि पनि सो क्षेत्रको विकास अवश्यक रहेको बताए । जिल्लाकै पहिचान बनाउन पर्सागढीको पर्सा गढी किल्लाको विकास भए मात्र जिल्लाको पहिचान रहिरहने बारे चर्चा गरेका थिए ।
नगरप्रमुख गोकर्ण पाठकले ऐतिहासिक मन्दिरको विकासमा नगरपालिकाले भरपूर सहयोग गर्ने तथा चारवटा गाउँको बीचमा रहेको पर्सागढी मन्दिरमा आउजाउको लागि नदीमा पुल बनाउनुपर्ने र यसबाट पर्यटक भिक्रायाउन सकिने बताए ।
पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, उपप्रमुख पूजा चौधरी, नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य रामचन्द्र साह, पूर्वनगरप्रमुख लोकनारायण यादव, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायतको सहभागिता थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य अखिलेश चौधरीले स्वागत र भागवत चौधरीले सहजीकरण गरेका थिए ।
१८७१ पुस १९ गते स्थानीय रञ्जीत चौधरीको कुशल युद्ध नीति र स्थानीयवासीको सक्रियतामा गोर्खाली सेनाले आधुनिक हतियारले सुसज्जित ब्रिटिश सेनामाथि ऐतिहासिक विजय हासिल गरेको अवसरमा पर्सागढी महोत्सव मनाइँदै आइएको हो । तत्कालीन अवस्थामा ब्रिटिश सेनाहरू रातिको समयमा पर्सागढी क्षेत्रमा विश्राम गरिरहेको बेला स्थानीयले हातहतियार र राँगाभैंसीको सिङमा मशाल बालेर उक्त युद्ध लडिएको थियो । त्यसमा दर्जनौं ब्रिटिश सेना हताहत भएका थिए ।
नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पर्सागढी मन्दिरलाई वीरताको रूपमा पहिचान कायम गर्न स्थानीय रञ्जीत चौधरीलाई संरक्षण गर्न दिएका थिए । त्यही रञ्जीत चौधरीको सातौं पुस्ताको रूपमा अहिले बृजमोहन चौधरीको परिवार चिनिन्छ ।
मन्दिरमा पहिले धेरै जग्गा भए तापनि अहिले जम्मा एक बिघा तीन कट्ठामा मन्दिर परिसर छ भने बाँकी जग्गा स्थानीयहरूले अतिक्रमण गरेका छन् ।
© 2024