वीरगंज – सामुदायिक सेवा केन्द्र छप्कैया, वडा नं। २ को आयोजनामा तथा वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा भारत–नेपाल सिमानामा अवस्थित भारतको ग्राम महदेवामा एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका सीमावर्ती बस्तीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा कुल २०२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएका बिरामीमध्ये ७५ जनामा मोतियाबिन्दु देखा परेको जानकारी वीरगंज सामुदायिक आँखा केन्द्रका प्रमुख डा। महेश सिंह धामीले दिनुभयो। उहाँका अनुसार, मोतियाबिन्दु भएका बिरामीहरूको लेन्ससहित निःशुल्क शल्यक्रिया गरिनेछ भने अन्य बिरामीहरूलाई आवश्यक औषधि तथा चश्मामा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
उद्घाटन समारोह
शिविरको उद्घाटन सामुदायिक सेवा केन्द्र छप्कैया वडा नं। २ का अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि समाजसेवी विभव सिंहले वीरगंज सामुदायिक आँखा केन्द्र र सामुदायिक सेवा केन्द्र छप्कैयाको यो पहल सीमावर्ती जनताको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो।
विशिष्ठ अतिथिहरूको सहभागिता
विशिष्ठ अतिथिका रूपमा पूर्व सरपञ्च निरहसन ठकुराई, महदेवा एसएसबीका इन्चार्ज जोनप्रकाश टड्डु, एएसआई कृपाराम शर्मा, एसएसबीका विरेन्द्र सिंह पवार, समाजसेवी विवेक सिंह, गणेश झा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता स्वास्थ्य शिविरहरू सीमावर्ती सद्भाव र सहयोगको प्रतीक भएको धारणा राखे।
समुदायको सहभागिता
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष मो। अब्दुलहक, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी, साथै अन्य स्थानीय अगुवा र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा सहभागी बिरामी तथा स्थानीय नागरिकहरूले यस्ता निःशुल्क सेवा पाउँदा आफूहरू अत्यन्त लाभान्वित भएको प्रतिक्रिया दिएका छन्।



