पर्सा — बढ्दो गर्मीका कारण रक्तदान कार्यक्रमहरूमा कमी आएपछि वीरगञ्जमा रगतको गम्भीर अभाव देखिएको छ। यस विषम परिस्थितिमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्जले रक्तदानका लागि तत्काल सहयोगको अपिल गरेको छ।
केन्द्रका अनुसार, थाईलासेमिया पीडित बालबालिका, एनिमिया, डायलिसिस गराइरहेका वृद्धवृद्धा, एकल महिला, गर्भवती र सुत्केरी महिला तथा एच.आई.भी.लगायत घातक रोगका बिरामीहरूलाई आवश्यक रगत आपूर्ति गर्न निकै कठिनाइ भइरहेको छ।
नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका मन्त्री विनोद गिरिले विभिन्न संघसंस्था, नागरिक समाज र व्यक्तिगत रक्तदाताहरूलाई अगाडि आउन विशेष आग्रह गर्दै रक्तदान शिविर आयोजना गर्न र तीन महिनाभित्र रक्तदान नगरेका दाताहरूलाई सिधै वीरगञ्जस्थित रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रगत दिन आग्रह गर्नुभएको छ।
मन्त्री गिरिले भने, “रक्तदान जीवनदान हो। सबैले हातेमालो गरेर यस मानवीय संकटलाई छिटो समाधान गरौँ।”



