वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको भेटलाई तिब्रता दिएका छन् ।
शुक्रबार बिहान बहुदरमाई नगरपालिकाको सिसियाडी पुगेका सिंहले बेलुका माइस्थान र गहवा क्षेत्रका मतदातासँग भेट गरेका हुन् ।
वीरगञ्ज वडा नम्बर ६ माइस्थानका मतदाताले यस पटक स्वतन्त्र उम्मेद्वारलाई नै आफूहरुले छान्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।
राजनीतिक गतिविधि भर्खरै सुरुवात गरेको भए पनि सामाजिक कार्यमा लामो अनुभव बोकेकाले यस पटक स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन आफूहरु तयार रहेको माइस्थान क्षेत्रका मतदाताको प्रतिक्रिया थियो ।
उनीहरुले आफूहरु लालटेनमा मतदान गर्न तयार भएर बसेको पनि बताए ।
स्वतन्त्र उम्मेद्वार सिंहले आफूलाई मतदाताहरुले नै उम्मेद्वार बनाएकाले विजयी बनाउने जिम्मेवारी मतदाताकै काँधमा आएको भन्दै साथ दिन आग्रह गरे ।
दलदलबाट छुटकारा पाउन आफूले हिम्मतका साथ स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै उनले आफ्नो जित व्यक्तिगत नभई जनताको जित हुने पनि बताए ।