खेलकुद । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको भिडन्त साँझ ७ः४५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।
लिगमा चेन्नई–राजस्थान तेस्रो जितको खोजीमा छन् । गत संस्करण उपविजेता राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।
दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले हारेको राजस्थानले तेस्रो म्याचमा भने दिल्ली क्यापिटल्सविरुद्ध ५७ रनको फराकिलो जित निकाल्यो । ऊ चेन्नईविरुद्ध पनि आफ्नो लय कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छ ।
चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो र तेस्रो खेलमा भने उसले उत्कृष्ट कमब्याक गर्यो । चेन्नईले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रन तथा तेस्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले हरायो । ऊ आज राजस्थानलाई हराउँदै जितको ह्याट्रिक पूरा गर्न चाहन्छ ।
हालसम्म चारपटक आइपिएल ट्रफी उचालेको चेन्नईको कप्तानी यसपालि पनि महेन्द्र सिंह धोनीले गरिरहेका छन् । राजस्थानको नेतृत्व सञ्जु सामसनको हातमा छ । अहिलेसम्म चेन्नई र राजस्थानले २७ खेलमा एकअर्काको सामना गरेका छन् । जसमध्ये १५ मा चेन्नई र १२ खेलमा राजस्थानले जित पारेका छन् ।
पछिल्लो ५ खेलमा भने चेन्नईविरुद्ध राजस्थान अगाडि छ । ५ मध्ये राजस्थान एक खेलमा मात्र पराजित भएको छ । उसले २०२१ यता चेन्नईसँग हारेको छैन ।
चेन्नईको सम्भावित प्लेइङ–११ : डेभन कन्वे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, महेन्द्र सिंह धोनी (कप्तान/विकेटकिपर), रवीन्द्र जडेजा, ड्वेन प्रिटोरियस, मिचेल सान्टनर र तुषार देशपाण्डे ।
इम्प्याक्ट प्लेयर : सिमरजीत सिंह, प्रशान्त सोलंकी, राजवर्धन हंगेरगेकर र आकाश सिंह ।
राजस्थानको सम्भावित प्लेइङ–११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकिपर), ध्रुव जुरेल, रियान पराग, शिमरोन हेटमायर, रवीचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, केएम आसिफ र ट्रेन्ट बोल्ट ।
इम्प्याक्ट प्लेयर : देवदत्त पाडिक्कल, कुलदीप सेन, केसी करिप्पा, नवदीप सेनी र सन्दीप शर्मा ।