वीरगञ्ज,०३ फागुन । क्यामरुनको एभिनियर एफसी हेटौँडामा जारी पाँचौ संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वीरगन्ज युनाइटेडलाई २–० ले हराउँदै एभिनियर एफसी सेमिफाइनलमा पुगेको हो। एभिनियरको जितमा कप्तान यानिक योआना र सावाले एक-एक गोल गरे। यानिकले खेलको ३९औँ र साबाले ७४औँ मिनेटमा गोल गरेका हुन्।
टिम्बा टिम्बाले मिलाइदिएको पासलाई यानिकले गोलमा परिणत गरेका हुन्। यस्तै, बोयोमीको प्रहारमा रिबाउन्ड आएको बललाई साबाले सुन्दर गोलमा परिणत गरेका थिए। टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै साबाले गोल गरेका हुन्।
प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा एनआरटीलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको वीरगन्जले खासै उत्कृष्ट खेल पस्किन नसक्दा सशक्त विदेशी टोली एभिनियरसँग निराश हुन बाध्य भयो।
खेलको अन्तिमतिर केही राम्रा मुभ बनाए पनि वीरगन्ज खेलमा फर्किन सकेन। बुधबारको खेलको म्यान अफ द म्याच वीरगन्जका उमेश कार्की घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।