वीरगञ्ज ,पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता वीरगञ्जका म.सोयब अख्तर सम्मानित भएका छन् ।
पर्सा क्षेत्र नम्बर २(ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले एक कार्यक्रमका बीच स्वर्ण पदक विजेता खेलाडी अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।
वीरगञ्ज ३ निवासी अख्तरले पोखरामा भएको खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका थिए ।
५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेशकै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।
अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेद्वार सिंहले वीरगञ्ज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु गौरबको विषय भएको बताए ।
उनले भने, ‘यो वीरगञ्ज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, वीरगञ्जेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’
खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
© 2024