एजेन्सी । मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्रिय छनोट बी को उपाधि जित्दै नेपाल आउने भएको छ । घरेलु टोली मलेसियाले बी क्षेत्रीय छनोटको उपाधि जितेसँगै आइसिसी विश्वकप एसिया छनोट फाइनल खेल्न नेपाल आउने पक्का भएको हो ।
मलेसियाले अन्तिम खेलमा थाईल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि ९४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर सैयद अजिजले ३२ बलमा ६ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्ड १८.२ ओभरमा ९३ रनमा अल आउट भएको थियो । थाईल्यान्डका कप्तान अक्षय कुमार यादवले सर्वाधिक २३ रन बनाए । मलेसियाका विजय उन्नीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । खिजार हायत र पवनदीप सिंहले समान दुई विकेट लिए ।
मलेसिया ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट भएको हो । थाईल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा मलेसिया, थाईल्यान्ड, भुटान, चीन र म्यानमार थिए ।
प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको थियो । आगमी अगष्ट ३० देखी नोभेम्बर ९ सम्म हुने एसिया फाइनल छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् ।
एसिया क्षेत्रीय छनोट आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ । नेपालमा हुने विश्वकप छनोटबाट शीर्ष दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।