वीरगञ्ज । भारतको पूर्वी राज्य ओडिशा (उडिशा) मा दुई यात्रुवाहक रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । ८०३ जना घाइते भएका छन् ।
टाइम्स अफ इण्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।’
घाइते यात्रीलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिशा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ रेलको आवागमन रद्द गरिएको छ । ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ भने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ ।