दुबई– संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईस्थित एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। आगलागीमा अन्य ९ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दुबई शहरको पुरानो भागमा रहेको अल रस छेउमा रहेको अपार्टमेन्टको चौथो तलामा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानअनुसार निर्माण र अग्नि सुरक्षाका लागि आवश्यक सतर्कता पालना नगरेका कारण आगलागी भएको देखिएको छ।
आगलागी शनिबार राति करिब १२:३० बजेतिर भएको बताइएको छ। यूएईका ७ ईमिरेट्समध्ये एक दुबईमा ३३ लाख जनसंख्याको बसोबास भएको बताइन्छ। जसमध्ये करिब ९० प्रतिशत विदेशी छन्।
शनिबार राति भएको आगलागीमा ज्यान गुमाउनेमा पनि विदेशी रहेका बताइएको छ। जसमध्ये ४ जना भारतीय नागरिक रहेका खुलेको छ।