इस्लामाबाद, २७ जेठ (रासस÷एएनआई)- पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफ अस्पताल भर्ना हुनुभएको छ ।
पछिल्लो तीन हप्तादेखि दुबई स्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।
उनीहरूका अनुसार उहाँको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।
मुसर्रफको ट्वीटर हेन्डलमै उहाँका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ ।
उहाँको अवस्थामा सुधार होस् भनेर आफूहरूले प्रार्थना गरिरहेको पनि उहाँका आफन्तले बताएका छन् ।
ट््वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने सम्भावना पनि छैन । उहाँका अधिकांश अङ्गले काम गरेका छैनन् । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”
सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएका मुसर्रफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उहाँले राज्य सत्ता हातमा लिनुभएको थियो ।
© 2024