Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लालटिनमा मतदान गर्न जनता आतुर छन्- स्वतन्त्र उम्मेद्वार सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ स्थायी घर भएका रुपेशमान सिंह यहाँका युवापुस्ताकाबीच परिचित नाम हो । उनी रुपु नामले अझै बढी चर्चित छन् । उनै रुपुले यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

पर्साको क्षेत्र नम्बर २(ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका रुपेशमान अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको चुनावी मैदानको कमाण्ड सम्हालेका उनी अहिले आफै विधायकका लागि चुनावमा होमिएका हुन् ।

वीरगञ्जकै सबैभन्दा पुरानो शैक्षिक धरोहर त्रिजुद्ध माविको शैक्षिक गुणस्तर बृद्धि गर्न एक दशकदेखि निरन्तर कृयाशिल उनी विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएका छन् ।

वैश्विक महामारी कोभिडका बेला विपन्न, असहाय तथा अप्ठ्यारोमा परेकाहरुको भोक मेटाउन साहिब दरबार सेवा संस्थानमार्फत निशुल्क भोजन वितरण गर्दै हिँडेका थिए । सहज परिस्थितिमा मात्रै नभई जस्तोसुकै कठीन परिस्थितिमा पनि नागरिकको सेवामा तत्पर उनै रुपु अहिले नागरिककै मत माग्दै घरदैलो पुगिरहेका छन् । उनै रुपेशमान (रुपू) सँग समग्र चुनावी सेरोफेरोमा रहेर हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ यो कुराकानी ।

१) तपाईँको उम्मेद्वारी किन ?

मेरो उम्मेद्वारी दलहरुको दलदल तोड्न । दलहरुले अहिले लगाईरहेको गठबन्धनको सिण्डिकेट तोड्न ।

दलहरुको सिण्डिकेटले आजित भएका मतदाताहरुको भरोसा बन्न मेरो उम्मेद्वारी हो । अहिले पनि मेरो दैनिकी विभिन्न सामाजिक कार्यमै वित्ने गरेको छ । जनताकै काममा मेरो दिनचर्या वितिरहेको छ । मेरो यो उम्मेद्वारी अझै जिम्मेवार भएर जनताको काम गर्न पनि हो ।

अर्को कुरा दलहरुका गतिविधि र उनीहरुका प्रतिनिधिको व्यवहारले आजित भएका मतदाताहरुको माग पनि हो मेरो उम्मेद्वारी । मेरो क्षेत्रका मतदाताको विश्वास र भरोसा हो मेरो उम्मेद्वारी ।

२) दलहरुको सिण्डिकेट तोड्न उम्मेद्वारी हो भन्दै गर्दा उम्मेद्वारी दर्ता गर्नु अघिसम्म त तपाईँ पनि दलकै टिकटका लागि दौडधुपमा हुनुहुन्थ्यो त ?

दौडधुप भन्दा पनि एक किसिमको संवाद थियो । टिकटका लागि दावी थियो । तर जुन तरिकाले उम्मेद्वारी दर्ता गर्नेबेलासम्म आइपुग्दा एक खालको अप्रत्यासित अनि घोर जनविरोधी तत्वसँग मैले आस्था राख्ने पार्टी दुषित गठबन्धनमा मिसियो त्यस पछि भने म दलको दलदलमा र कसैको इसारा र स्वार्थमा रहेर होइन कि स्वतन्त्र भएर जनताको सेवामा संलग्न हुन्छु भनेर स्वतन्त्र उम्मेद्वारीको तयारी गरें र त्यही अनुसार दर्ता गरेर अघि बढेको हो ।

पार्टी प्रति एउटा आस्था राख्ने व्यक्तिले टिकटका लािग दावी गर्नै पाउँदैन भन्ने होइन । हो दावी थियो । तर अप्राकृतिक र नसुहाउँदो गठबन्धनको चक्रव्यूह चल्न थालेपछि त्यो समग्र कुरा छाडेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको हो ।

३) टिकट पाएको भए दलबाटै उम्मेद्वार बन्नुहुन्थ्यो, टिकट नपाएपछि चाहिं स्वतन्त्र ?

होइन मैले दलबाट टिकट नै पाएको भए पनि स्वतन्त्र नै उम्मेद्वारी दिन्थें । मैले अघि पनि भने नि । उम्मेद्वारी दर्ता गर्ने समयसम्म आइपुग्दा जुन खालको अप्राकृतिक र दुषित गठबन्धन भयो त्यो मधेस र मधेसीका लागि अपाच्य हो । मेरो क्षेत्रको मतदाताले पनि त्यही भन्नुभएको भएर नै म स्वतन्त्र उम्मेद्वार बनेको हुँ । होइन पार्टी कै टिकटबाट उम्मेद्वार बन्ने भनेको भए अरु थुप्रै पार्टी थिए नि टिकट दिने त । तर अब होइन, स्वतन्त्र भएरै चुनावमा जानुपर्छ भनेर आम मतदाताहरुसँग छलफल गरेर, उहाँहरुको सुझाव लिएर उम्मेद्वारी दर्ता गराएको हुँ । टिकट पाएर, नपाएर भन्ने कुरै छैन यहाँ ।

४) पार्टीले उम्मेद्वारी फिर्ता लिएन भनेर तपाईँलाई त कारबाही गर्यो नि ।

म आफैँ स्वतन्त्र भएर उम्मेद्वार दिएको मान्छेलाई कारबाहीको के औचित्य रह्यो र । मैले आफैँ दलको दललमा बस्दिन भनेरै त स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । त्यसैले कारबाहीको औचित्य देख्दिन म ।

४) मतदातालाई कसरी बुझाउनु हुन्छ ? कसरी बुझाई रहनु भएको छ ??

मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेद्वार बनेको हुँ । उहाँहरुले नै मलाई कन्भिन्स गर्नु भएको हो स्वतन्त्रबाटै उम्मेद्वार बन्न । त्यसैले उहाँहरुलाई भन्न, बुझाउन मलाई सजिलो छ । उम्मेद्वारी दर्ता पछि अहिले दिनहुँ घरदैलोमै पुगिरहेको छ । उहाँहरुसँग सरसल्लाह गरिरहेको छु । आफ्ना एजेण्डाहरु राखिरहेको छु । दलहरुलाई त हामीले वर्षौँदेखि हेर्दै आएका होनि ।
उनीहरुलाई नै अवसर पनि दिँदै आएका हौँ । तर खोइ त हाम्रा समस्याहरु ज्यूँका त्यूँ छन् । दलबाट निर्वाचित भएकाहरु त एउटा चुनावबाट अर्को चुनाव नआउँदासम्म मतदाताले देख्नै नपाउने अवस्था आएको छ । जितेपछि हराउने । चुनाव आएपछि देखा पर्ने खाले प्रवृत्ति छ । अब यो सबै हटाउनु पर्छ । दलको दलदलबाट मुक्त भएर आफ्ना अधिकार प्रयोग गर्दै आफ्नो ठाउँ, क्षेत्र बनाउन र यहाँको आवाज बुलन्द बनाउन सक्ने मान्छे चयन गर्नु पर्छ भनेर भनिरहेका छौँ । मैले मलाई जिताउनुस भनेर भनेको छैन । गर्ने मान्छेलाई जिताउनुहोस् । पहिलेजस्तो जिताएर पठाएकाहरुलाई हेरेर पछुताउने होइन कि जिताएपछि गर्न सक्नेलाई जिताउनुस भनेर बुझाउँदै हिँडेका छौँ । अहिले धेरै मतदाताले बुझि पनि सक्नु भएको छ ।

५) अघि एजेण्डाका कुरा निकालि हाल्नु भो, के छन् त तपाईका एजेण्डाहरु ? के लिएर मतदाताको घरदैलो पुगिरहनु भएको छ त ?

मैले ठूला कुराहरु गरेर मतदातालाई झुक्याउने काम गर्न सक्दिन । जे गर्न सक्छु त्यो मात्रै भन्छु । शिक्षा क्षेत्रको स्तरीकरण मेरो पहिलो प्राथमिकता हो । अहिले पनि यहाँका सामूदायक विद्यालयमा विद्यार्थी बस्ने डेस्क बेन्चको अभाव छ । त्यो भन्दा पहिला भवनकै अभाव छ । त्यो पूर्ति गर्ने गरी काम गर्नु छ ।

सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय बनाउनु पर्ने छ । यस अघि यहाँबाट जितेर गएकाले गेटमा पैसा खर्च गरे । हिँड्ने राम्रो बाटो छैन त्यहाँ चम्किने गेट देखिन्छ । यो त तपाईँ हाम्रो पसिनाबाट छुट्याएर पठाएको करको दुरुपयोग हो नि । पहिला हिँड्ने बाटो बनाऔँ, गुणस्तरीय र निशुल्क शिक्षाका लागि शिक्षालयहरु स्थापना गरौँ, सर्वसुलभ स्वास्थ्य पहुँच बढाऔँ, उत्पादनमुखि कार्यमा लगानी गरौँ, रोजगारी बढाउने काम गरौँ । अनि बल्ल पो गेट लगायतका कुराहरुको आवश्यकता होला । पहिला भोको पेट भर्ने उपाय छैन गेट, द्वार बनाएर देखाउने काम मात्रै भएको छ । यी सबै विक्रीती रोक्न जरुरी छ । त्यसैका लागि नै म आएको हुँ ।

६) घरघर पुगिरहेको भन्नु भएको छ, मतदाताको प्रतिकृया कस्तो पाइरहनु भएको छ ?

मैले यस अघि पनि भनें मेरो क्षेत्रका मतदाता एवं अग्रजहरुकै दवाबमा मैले स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । घरघरमा पुग्दा उहाँहरु साह्रै उत्साहित भएको मैले पाएको छु । अब पार्टी होइन स्वतन्त्र रोजौँ, स्वतन्त्र खोजौँ भनेर मतदाताहरु नै भनिरहनु भएको छ । यसले मलाई पनि उत्साहित बनाएको छ । उहाँहरुले एक प्रकारले विश्वास र भरोसा गर्नु भएको छ । मैले यसअघि गरेका कामको मूल्यांकन उहाँहरुले पक्कै पनि गर्नुहुने छ । मलाई नै विजयी बनाउन उहाँहरु स्वस्फूर्त लाग्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

७) त्यो क्षेत्र बाट त अरु पनि स्वतन्त्र उम्मेद्वार छन् । उनीहरु पनि यसै गरी मतदाताको घरदैलो पुग्दै होलान् । गठबन्धनका उम्मेद्वार पनि छन् । विश्वास कत्तिको छ जित्ने ?

व्यक्तिगत मेरो जित भन्दा पनि मेरो एजेण्डाको जितको कुरा ठूलो हो भन्ने लाग्छ मलाई । अरु स्वतन्त्रको नाममा खोल ओढेर आएकाहरु हुन् । पटक पटक सांसद भएका, मन्त्री बनेकाहरु अहिले स्वतन्त्र भन्दै छिरेका छन् । उनीहरुको बारेमा मतदाताले बुझेका छन् ।

यस अघि जितेरै गएका पनि फेरि आएका छन् । उनको बारेमा पनि मतदाता जानकार नै छन् । त्यसैले त्यति धेरै कठीनाई देख्दिन म । वीरगञ्ज महानगरको १० वटा वडा र बहुदरमाई नगरपालिकाको एउटा वडा पर्छ मेरो क्षेत्रमा । त्यहाँका धेरै जसो मतदाताले मलाई फोनबाट, भेटेर नै सल्लाह सुझावहरु दिइरहनु भएको छ । हौसला दिइरहनु भएको छ । साथ रहने विश्वास दिलाई रहनु भएको छ ।

त्यसैले अरु को–को छन् भन्ने कुराले खासै अर्थ राख्दैन । म स्वभिमान र निस्वार्थ जनताको अगाडी उभिएको छु । त्यसैले जनताले मलाई नै मत दिएर विजयी गराउनुहुने छ भन्ने विश्वास लिएको छु ।

८) तपाईँको काका वीरगञ्ज महानगरको अहिले मेयर हुनुहुन्छ, उहाँको साथ, आशिर्वाद तपाईँलाई रहन्छ कि रहँदैन ?

हो काका महानगरको मेयर हुनुहुन्छ । चुनावमा उहाँले कत्तिको सहयोग गर्नुहुन्छ, हुँदैन त्यो पछिको कुरा हो । अहिले उहाँ पार्टीको आधिकारीक उम्मेद्वारको लविङमा हुनुहुन्छ । मैले त उहाँलाई आग्रह गर्ने हो सहयोगको, उहाँसँग आशिर्वाद माग्ने हो । उहाँले के गर्नु हुन्छ, के गर्नु हुँदैन त्यो उहाँको कुरा हो । उहाँले गर्नु भएन भनेर म पछि हट्ने कुरा पनि त भएन अब । म त अभियानमा होमिई सकेको छु ।
८) अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

पर्सा क्षेत्र नम्बर २(ख) बाट मैले स्वतन्त्र उम्मेद्वारी दिएको छु । मेरो चुनाव चिह्न लालटिन छापमा अमूल्य मत दिएर विजयी बनाउनु हुन सबै मतदाताहरुसमक्ष अनुरोध गर्दछु । तपाईसँगै दुखसुखमा साथ रहेको मान्छेलाई अहिले तपाईको साथको खाँचो छ । मलाई विश्वास छ तपाईँहरुले नै मलाई उम्मेद्वार बनाउनु भयो अब तपाईँहरुले नै विजयी बनाउनका लागि यो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ । चुनाव चिह्न प्राप्त गरेसँगै मतदाताहरुले लालटिन छापमा भोट हाल्न आतुर छौँ भनेर भनिरहनु भएको छ । यसले हौसला र विश्वास बढाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद