पर्सा — पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष विपिन मुखियाले एक कार्यक्रमबीच पूजा–पाठ गर्दै भवनको शिलान्यास गरेका हुन्।
चालू आर्थिक वर्षका लागि विनियोजित वडा कार्यालयको ५ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको उक्त भवन स्थानीय महिलाहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएको हो।
शिलान्यासपछि बोल्दै वडाध्यक्ष मुखियाले वडाका महिलाहरूले लामो समयदेखि भेला, बैठक, सीपमूलक तालिम तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न सुरक्षित र आफ्नै स्थानको अभाव झेल्दै आएको उल्लेख गरे। “स्थानीय आमा–दिदीबहिनीहरूको मागलाई ध्यानमा राख्दै यो भवन निर्माण गर्न लागिएको हो,” उनले भने, “विकास भनेको केवल भौतिक संरचना मात्र होइन, यसले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ।”
टोलमै महिला सामुदायिक भवन बन्ने भएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन्। स्थानीय बासिन्दा आशा देवीले भवन निर्माणले विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिन्।
शिलान्यास कार्यक्रममा वडा सदस्य मदन मिश्र, स्थानीय नेता पारस साह, किसनावती देवी, सम्भु महतो थारु, बैजनाथ महतो थारु, अर्बिन्द मिश्र, राधा यादव, रोशन चौधरी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।



