वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, वीरगञ्जले वीरगञ्ज हेल्थ केयर अस्पतालसँगको समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानीय तहका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर व्हिलचेयर वितरण गरेको छ।
गणका प्रमुख (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्वमा टोलीले हिँडडुल गर्न नसक्ने चार जना व्यक्तिको घरमै पुगेर व्हिलचेयर हस्तान्तरण गरेको हो।
जिराभवानी गाउँपालिका–१ पकडीटोलाका ६२ वर्षीय प्रेम चौधरी रुखबाट लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि विगत दुई वर्षदेखि ओछ्यानमै सीमित छन्। उनको आर्थिक अवस्था कमजोर रहेको र श्रीमतीले ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएको जानकारी पाएपछि सशस्त्र प्रहरीले घरमै पुगेर उनलाई व्हिलचेयर प्रदान गरेको हो।
यसैगरी, जिराभवानी गाउँपालिका–२ सेढवाका ३५ वर्षीय विनोद दास थारु जन्मजातै हिँडडुल गर्न नसक्ने भएकाले उनलाई पनि घरमै पुगेर व्हिलचेयर उपलब्ध गराइएको छ।
त्यस्तै, धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी रोगका कारण अपाङ्ग भएपछि हिँड्न नसक्ने अवस्थामा पुगेका थिए। उनलाई पनि सशस्त्र प्रहरीको टोलीले घरमै पुगेर सहयोग गरेको जनाएको छ।
बिन्दबासिनी गाउँपालिका–३ झौवाका १० वर्षीय आलोक कुमार राम जन्मजात अपाङ्ग रहेको थाहा पाएपछि उनलाई समेत घरमै पुगेर व्हिलचेयर प्रदान गरिएको छ।
व्हिलचेयर वितरण कार्यक्रममा बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खडका, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्ष रामशरण खवास र मनौवर अहमद लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी गण नम्बर १३ पर्साले यसअघि पनि जिल्लाका दुर्गम तथा विपन्न क्षेत्रमा पुगेर असहाय तथा जरूरतमन्द नागरिकलाई आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ।



