वीरगञ्ज। वीरगञ्जस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा दुई दिने वित्तीय साक्षरता (Financial Literacy) सम्बन्धी कार्यक्रम सुरु भएको छ। Global Money Week को अवसर पारेर Jyoti Bikas Bank को वीरगञ्ज शाखाले कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका प्रिन्सिपल प्रभु प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कक्षा ९ का करिब ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई वित्तीय ज्ञान, बचतको महत्व, बैंकिङ सेवा प्रयोग गर्ने तरिका तथा डिजिटल बैंकिङसम्बन्धी जानकारी गराएका थिए।
कार्यक्रममा ज्योति विकास बैंक वीरगञ्ज शाखाका अधिकृत लक्ष्मण कुमार रौनियार, राहुल बरनवाल र राजा बाबु लगायतले प्रशिक्षण दिएका थिए।
सो अवसरमा बोल्दै अधिकृत लक्ष्मण कुमार रौनियारले विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए। उनले आर्थिक रूपमा सचेत भएमा भविष्यमा व्यक्तिगत तथा पारिवारिक जीवन व्यवस्थापन गर्न सहज हुने बताए। साथै आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार र वित्तीय अनुशासनबारे जानकारी हुनु आजको आवश्यकता भएको उनले उल्लेख गरे।
विद्यालयका प्रिन्सिपल रौनियारले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आर्थिक चेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गरे।
आयोजकका अनुसार उक्त कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने छ।



