वीरगञ्ज। वीरगञ्जस्थित वार्ड प्रहरी कार्यालय बिर्ताको आयोजनामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य, कार्यक्षमता तथा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत करिब ५० जना प्रहरी कर्मचारीलाई नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निरज कुमार सिंहले “Fit Police, Healthy Mind, Safe Nation” विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा डा. सिंहले प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, नियमित व्यायाम, स्वस्थ जीवनशैली तथा तनाव व्यवस्थापनका विषयमा जानकारी दिनुभएको थियो। उहाँले प्रहरीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा मात्रै समाज र राष्ट्रको सुरक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्न सकिने बताउनुभयो।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, Nepal Innovative Society का अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै सेवामा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।



