वीरगन्ज — सार्वजनिक यातायात प्रयोग गरी वीरगन्जबाट काठमाडौं लैजान लागिएको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक सवारीमार्फत भइरहेको लागुऔषध तस्करीको घटनाबारे जानकारी दिएको हो। प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारीहरूले निगरानी कम हुने भन्दै सार्वजनिक यातायातलाई नै तस्करीको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको सूचनापछि निगरानी कडा पारिएको थियो।
सोही क्रममा शनिबार बिहान वीरगन्ज बसपार्कबाट काठमाडौंका लागि छुटेको सुमो गाडीलाई प्रहरीले विशेष निगरानीका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा गाडीको छतमा त्रिपालले ढाकेर लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार गाडीको छतमा लुकाइ राखिएको ५२ हजार ३ सय पीस ट्रमाडोल ट्याब्लेट बरामद गरिएको हो। “सार्वजनिक सवारीसाधनलाई प्रयोग गरेर लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। त्यसै क्रममा सुमो गाडी जाँच गर्दा ठूलो परिमाणमा ट्रमाडोल बरामद भयो,” उनले भने।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बारा परवानीपुर गाउँपालिका–१ निवासी सुमो चालक रामअशिष अहिर र पर्साको बहुदरमाइ नगरपालिका–२ का सुवास सर्राफलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तस्करीमा प्रयोग भएको ना १ ज २७६५ नम्बरको सुमो गाडी पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त लागुऔषध वीरगन्जबाट काठमाडौं लैजान खोजिएको देखिएको प्रहरीले जनाएको छ।
एसपी पाठकका अनुसार लागुऔषध तस्करीका नयाँ–नयाँ तरिका अपनाएर कारोबार गर्ने समूह सक्रिय रहेको पाइएकाले सार्वजनिक यातायात, मालवाहक सवारी तथा विभिन्न नाकाहरूमा निगरानी थप कडा पारिएको छ। “पछिल्लो समय लागुऔषध ओसारपसारका लागि सार्वजनिक सवारीको प्रयोग बढेको देखिएकाले त्यसतर्फ विशेष ध्यान दिएका छौँ,” उनले भने।
बरामद गरिएको ट्रमाडोल औषधि चिकित्सकीय प्रयोगबाहेक अवैध रूपमा प्रयोग तथा बिक्री वितरण गर्न प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा बरामद भएकाले यस प्रकरणमा संगठित सञ्जालको संलग्नता हुन सक्ने आशंकासमेत गरिएको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको र घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि खोजी भइरहेको जनाएको छ।



