वीरगन्ज,। वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बिन्दवासिनीमा सोमबार पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले चुनावी घरदैलो गर्दै मतदातासंग भेटेर संवादपनि गरेका छन् ।
घरदैलो तथा मतदातासंगको संवाद गर्न पुगेका चौरसियालाई त्यहाँका समर्थक र मतदाताले अबीरटीका लगाएर स्वागत गर्दै समर्थनपनि जनाएका छन् । यसअघिका निर्वचनमा कांग्रेसको बलियो आधार क्षेत्र मानिने बिन्दवासिनीमा घरदैलो क्रममा चौरसियाले स्थानीय मतदातासँग भेटघाट गर्दै विगतमा अघि बढाइएका विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रका योजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे।
चौरसियाले छुटेका योजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै विकासको गतिलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको बताए। “विकासलाई निरन्तरता दिन अनुभव र स्थिर नेतृत्व आवश्यक छ,” उनले मतदातासँगको संवादमा उल्लेख गरे।
घरदैलोका क्रममा स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै पुनः अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिता रहेको चौरसियाको कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता र समर्थकहरुको उल्लेख्य सहभागिता थियो ।



