पर्सा । जगदम्बा इन्टरप्राइजेज उद्योग निर्माणका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ परसवा केराढोका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई रोजगारी दिने आश्वासन दिइए पनि हालसम्म त्यो प्रतिबद्धता पूरा नभएको स्थानीयवासीले बताएका छन्।
उद्योगका सञ्चालक तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेस का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुँगटामाथि चुनाव नजिकिँदै जाँदा स्थानीयस्तरमा प्रश्न चुलिँदै गएको छ।
स्थानीयवासीका अनुसार उद्योग निर्माणको समयमा “कम्तीमा एक घरबाट एक जनालाई रोजगारी दिइने” आश्वासन दिइएको थियो। तर उद्योग सञ्चालनमा आइसकेको लामो समय बितिसक्दा पनि परसवा क्षेत्रका स्थानीयले सो अवसर पाउन नसकेको गुनासो गरेका छन्।
परसवाकी स्थानीय महिला उमादेवीले भनिन्,
“उद्योग बनाउँदा हामीलाई रोजगारी दिने भनिएको थियो। तर आजसम्म न त हामीलाई काम दिइयो, न त सोधपुछ नै भयो। आश्वासन कागजमै सीमित भयो।”



