उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)को उपस्थितिमा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को टेढा गाउँमा पार्टी प्रवेश कार्यक्रम तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न स्थानीय व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए। सो अवसरमा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा र सुझावहरू सुन्नुभयो।
उहाँले गाउँ–टोलको समग्र विकास, नाला तथा सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएपछि उम्मेदवार सिंहले आफू निर्वाचित भए लगत्तै स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने स्पष्ट प्रतिवद्धता जनाउनुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर कार्यसम्पादन गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याउँदै विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र समाधानको बाटो खोल्ने विश्वास दिलाउनुभयो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ जस्तै परिणाममुखी र काम गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै “तपाईं पनि त्यस्तै काम गर्नुहोस्, हामी सबै तपाईंको साथमा छौं” भन्ने समर्थन व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।



