वीरगञ्ज । पर्सागढी नगरपालिका वडा नं. ४ अन्तर्गत हरदासपुर धनुक टोलमा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यका साथ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। मंगलबार सम्पन्न स्थानीय भेलाले प्रेम महतोको संयोजकत्वमा १२ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
स्थानीय स्तरमा चुनावी गतिविधिलाई व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने लक्ष्यका साथ कमिटी गठन गरिएको पर्सा क्षेत्र नम्बर २ रास्वपाले जनाएका छन्।
कमिटीले टोलस्तरमा मतदाता अभिमुखीकरण, जनसम्पर्क विस्तार, चुनावी सन्देश प्रवाह तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गठित कमिटीको सदस्यहरूमा नरेश ठाकुर, राजेन्द्र प्रसाद मण्डल, रामभरोस मण्डल, पावन कुमार कुशवाहा, जंगबहादुर महतो, नमुना महतो, सनोज महतो, राजेन्द्र महतो, कृष्ण मण्डल, प्रमोद कुमार मण्डल र मुकेश कुमार मण्डल रहेका छन्। कमिटीमा विभिन्न समुदाय र वर्गका प्रतिनिधित्व समेटिएकोले टोलस्तरमा व्यापक सहभागिता र सहयोग जुट्ने विश्वास लिइएको छ।
भेलाका क्रममा वक्ताहरूले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सबै मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। उनीहरूले आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गराउन कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
नवगठित निर्वाचन परिचालन कमिटीले छिट्टै कार्ययोजना सार्वजनिक गरी घरदैलो कार्यक्रम, मतदाता भेटघाट तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ।



