कलैया । शुक्रबार कलैयास्थित करण पार्टी प्यालेसमा नेपाल प्रेस युनियन बारा शाखाको आयोजनामा नेपाली कांग्रेसका उम्मेदवारहरूसँग निर्वाचन लक्षित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विशेषतः बारा निर्वाचन क्षेत्र नम्बर–२ का कांग्रेस उम्मेदवार भैयाराम यादवको स्पष्ट राजनीतिक दृष्टिकोण, लोकतन्त्रप्रतिको प्रतिबद्धता र प्रेस स्वतन्त्रताप्रतिको अडानका कारण अर्थपूर्ण बनेको थियो।
प्रेस युनियन बारा शाखाका अध्यक्ष श्यामबावु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार भैयाराम यादव, क्षेत्र नम्बर–३ का फरमुल्लाह मन्सुर तथा क्षेत्र नम्बर–४ का श्याम गुप्ताको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उम्मेदवार भैयाराम यादवले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा स्वतन्त्र, जिम्मेवार र सशक्त सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले नेपाली कांग्रेसले सधैं प्रेस स्वतन्त्रताको रक्षा गर्दै आएको स्मरण गराउँदै वर्तमान निर्वाचन लोकतन्त्र र संविधानको संरक्षणका लागि निर्णायक हुने बताए।
यादवले नेपाल प्रेस युनियनमा आबद्ध सम्पूर्ण सञ्चारकर्मीहरू एकजुट भई निर्वाचन प्रचार–प्रसारमा सक्रिय हुनुपर्नेमा जोड दिए। “यो चुनाव केवल उम्मेदवारको जित–हार मात्र होइन, लोकतन्त्र, प्रेस स्वतन्त्रता र जनताको अधिकारको रक्षा गर्ने लडाइँ हो,” उनले भने, “यसका लागि कांग्रेस उम्मेदवारको जित अनिवार्य छ।”
उनले पत्रकार र कांग्रेसबीचको ऐतिहासिक सम्बन्ध स्मरण गर्दै सत्य, तथ्य र जनमुखी पत्रकारितामार्फत जनतालाई सही सूचना पुर्याउन सञ्चारकर्मीहरूलाई आग्रह गरे। कांग्रेस उम्मेदवारलाई विजयी गराउन युनियनकर्मीहरूले व्यापक रूपमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, सचिव सन्तोष पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेश सदस्य संजीव कुमार मिश्र, साजिर मन्सुर, महासंघका पूर्व अध्यक्ष गुरु प्रसाद गौतम, रेशम तिवारी, पूर्व उपाध्यक्ष राकेश पाण्डेय, रवीन्द्र सिंह, निवेश तिमिल्सिना, भोजराज भट्टराई, धिरेन्द्र पनुहार, गजेन्द्र कुशवाहा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै शिवशंकर मिश्र, उपेन्द्र यादव, जयनारायण यादव, रवीन्द्र साहलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो।
सो अवसरमा नेपाल प्रेस युनियन बारा शाखाका उपाध्यक्ष अनिल साह, जिल्ला सचिव राजेश कुशवाहा, सह–सचिव विनिता चौधरी, कोषाध्यक्ष अरुण साह तथा सदस्यहरू प्रभु यादवलगायतले पनि आ–आफ्नो धारणा राख्दै कार्यक्रम सफल बनाउन योगदान दिएका थिए।



