पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा रात्रिकालीन चुनावी अभियानलाई तीव्रता दिएका छन्। स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न उक्त कार्यक्रममा रुङटाले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या, विकासका अवरोध र समाधानका उपायबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले वडा नम्बर ३० सहित पर्सा क्षेत्र नम्बर १ का नागरिकहरूले भोग्दै आएका सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सुरक्षा जस्ता आधारभूत समस्यालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले विकास जनताका लागि हुनुपर्ने भन्दै कागजी योजना र औपचारिकतामा सीमित नभई प्रत्यक्ष अनुभूति हुने काम आवश्यक रहेको बताए।
“जनताको खाँचो र चाहनालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ,” रुङटाले भने, “कागजमा मात्रै सीमित योजना होइन, जनताले दैनिक जीवनमा महसुस गर्ने विकास नै मेरो लक्ष्य हो।”
उनले युवाहरूलाई रोजगारीसँग जोड्ने कार्यक्रम ल्याउने, साना व्यवसायी र किसानलाई सहुलियत उपलब्ध गराउने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र गुणस्तर सुधार गर्ने योजनाबारे पनि स्पष्ट पारे। कांग्रेसको नेतृत्वमा मात्रै समावेशी, दिगो र न्यायपूर्ण विकास सम्भव हुने उनको दाबी थियो।
रुङटाले नेपाली कांग्रेस लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको पक्षमा सधैं उभिँदै आएको पार्टी भएकाले जनताले यसपटक पनि विश्वास व्यक्त गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमका क्रममा उनले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूको भनाइ थियो।
रात्रिकालीन चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, पूर्व नगरसभापति विजय सर्राफ, पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, सचिव हरि यादव, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंह, हरिन्द्र यादव, रामनिवास, बाबुनन्द पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले कांग्रेस उम्मेदवार रुङटालाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि आफ्ना समस्या, अपेक्षा र सुझाव खुला रूपमा राखेका थिए। उनीहरूले विकासका काममा निरन्तरता, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। रात्रिकालीन कार्यक्रम भए पनि स्थानीयको उत्साहपूर्ण सहभागिताले वडा नम्बर ३० मा चुनावी माहोल थप तातेको देखिएको थियो।



