वीरगञ्ज ।
पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा ठूलो सङ्ख्यामा युवाहरू रास्वपामा समाहित भएका हुन्।
पार्टी प्रवेश गर्नेमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह र दनिश सेखलगायत रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जेन्जी युवा नेता परबेज सेखले देश परिवर्तन गर्न सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र रहेको दाबी गरे। उनले पर्साका जेन्जी युवाहरू अब संगठित रूपमा रास्वपालाई विजयी बनाउन सक्रिय हुने बताए।
जेन्जी अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका प्रमुख युवा नेताहरू पहिले नै रास्वपामा आबद्ध भइसकेकाले जेन्जी आन्दोलनको सही प्रतिनिधित्व रास्वपाले गर्न सक्ने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै पार्टीको वास्तविक शक्ति भएको बताए। युवाको सक्रिय सहभागिताका कारण आफू चुनाव जित्नेमा विश्वस्त रहेको उनले उल्लेख गरे।
साथै उनले निर्वाचनका क्रममा हुने पैसाको दुरुपयोग रोक्न कानुनी र मर्यादित बाटो अपनाउन युवाहरूलाई आग्रह गरे।
कार्यक्रम रास्वपा महानगर सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो।



