पर्सा ।
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङटाले जनतामैत्री, सहभागितामूलक र संवादमुखी चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ८ (गहवा), वडा नं. १२ (मुर्ली) र वडा नं. २० (हरपतगंज) लगायतका विभिन्न बस्ती तथा टोलहरूमा पुगेर घरदैलो कार्यक्रम, चिया–चर्चा, अन्तरक्रिया र छलफलमार्फत मतदाता, स्थानीयवासी, अगुवा नागरिक तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष संवाद गरेका छन्।
अभियानका क्रममा उम्मेदवार रुङटाले स्थानीय जनताको दैनिक जीवनसँग गाँसिएका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै समाधानमुखी राजनीतिलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको स्पष्ट पारे। स्थानीयवासीहरूले सडकको दुरावस्था, सुरक्षित खानेपानीको अभाव, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, युवाको बेरोजगारी, महँगी तथा किसानका समस्या प्रमुख रूपमा उठाएका थिए।
वीरगन्ज महानगरपालिका वडा नं. ८ मा आयोजित चिया–चर्चा कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले लोकतन्त्रको संरक्षणका लागि आवश्यक परे आफू जेल जान पनि तयार रहेको उद्घोष गरे। औद्योगिक घरानाबाट आएको व्यक्ति भए पनि लोकतन्त्र, संविधान र जनअधिकारमाथि आँच आए एक क्षण पनि नसोची आन्दोलनमा होमिने र जेलनेल सहन तयार रहेको उनले स्पष्ट पारे।
स्थानीय बासिन्दाका जिज्ञासाको जवाफ दिँदै उनले कुशल नेतृत्व र उद्योगमैत्री नीतिको अभावका कारण देशभित्र उद्योग–व्यापार फस्टाउन नसकेको र त्यसकै प्रत्यक्ष असरस्वरूप बेरोजगारी बढ्दै गएको बताए। नेपाली कांग्रेसका नेता गगन थापाको नेतृत्वमा सरकार गठन भएपछि उद्योग–व्यापारमैत्री कानुन निर्माण भई रोजगारीका अवसर सिर्जना हुने र बेरोजगारी समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसकै नेतृत्वमा स्थापना भएको स्मरण गराउँदै अब देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको दाबी गरे।
अभियानकै क्रममा कांग्रेसका बुथ सभापति तथा पार्टी कार्यकर्ताहरूसँग छुट्टै छलफल गर्दै संगठन सुदृढीकरण, मतदाता समन्वय र निर्वाचन रणनीतिबारे परामर्श गरिएको थियो। कांग्रेसले जनताको विश्वास जित्ने अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको नेताहरूले बताएका छन्।
नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पर्सा क्षेत्र नं. १ मा पार्टीको संगठन बलियो रहेको उल्लेख गर्दै अनिल रुङटा जनताको दुःख–सुख बुझ्ने, विकासप्रति स्पष्ट दृष्टिकोण भएका र स्वच्छ छवि भएका नेता भएको बताए। उनले लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र जनअधिकारका पक्षमा कांग्रेस सधैं उभिँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।
त्यसैगरी नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य अजय कुमार द्विवेदीले पर्सा क्षेत्र नं. १ कांग्रेसको आधार क्षेत्र भएको र पछिल्ला दिनमा जनसमर्थन थप मजबुत बन्दै गएको बताए। उनले उम्मेदवार रुङटा इमान्दार, कर्मठ, जनताप्रति उत्तरदायी र विकासमुखी सोच भएका नेता भएको उल्लेख गर्दै उनलाई मतदान गर्न आम मतदातासँग आग्रह गरे।
उम्मेदवार रुङटाले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई समेट्ने दीर्घकालीन विकास योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। आफू निर्वाचित भए पर्सा क्षेत्र नं. १ लाई नमुना र समृद्ध क्षेत्रका रूपमा विकास गर्ने दृढ संकल्प पनि उनले दोहोर्याए।
कार्यक्रममा नेपाली कांग्रेसका पार्टी कार्यकर्ता, स्थानीय अगुवा नागरिक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कांग्रेस नेतृत्वप्रति भरोसा व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।



