नेपाली कांग्रेसका नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अजय चौरसिया ले देशको विकास, शान्ति र लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसलाई जिताउनुको कुनै विकल्प नरहेको बताएका छन्। उनले कांग्रेसकै नेतृत्वमा मात्र मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकिने दाबी गरे।
चुनावी अभियानका क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नं. २६ सुगौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले आगामी निर्वाचनपछि आफ्नो क्षेत्रमा विकास निर्माणका कामले ‘तेज रफ्तार’ लिने बताए। उनले विगतमा आफूले सम्हालेको मन्त्रालयमा विकास बजेट सीमित भए पनि अन्य मन्त्रालयसँग समन्वय र पहल गरेर पर्सा क्षेत्रका लागि अधिकतम बजेट व्यवस्था गरेको दाबी गरे।
चौरसियाका अनुसार तिलावे नदीमा सुगौली र सिसियाडी जोड्ने पुल निर्माणका लागि गत वर्ष विनियोजन गरिएको १ करोड रुपैयाँ बजेटबाट काम हुन नसकेपछि चालु आर्थिक वर्षमा बजेट बढाएर ३ करोड पुर्याइएको छ। “चुनाव लगत्तै उक्त पुलको निर्माण कार्य सुरु हुन्छ,” उनले भने। यस्तै, जसौली, उदयपुरघुर्मी र बहुअरी नजिकैका भाँचिएका पुलहरूको मर्मत कार्य सुरु भइसकेको पनि उनले जानकारी दिए।
उनले आफ्नै पहलमा बिन्दवासिनीमा पोलिटेक्निक कलेज सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै यसका लागि ३ करोड रुपैयाँ बजेट व्यवस्थापन भइसकेको बताए। साथै बहुदरमाईको सातोमाईमा धर्मशाला निर्माण तथा कब्रिस्तानमा पर्खाल लगाउने कार्यका लागि पनि बजेट पास भइसकेको जनाउँदै स्थानीय विवादका कारण केही काम रोकिए पनि छिट्टै सुचारु हुने विश्वास व्यक्त गरे।
कांग्रेसको ऐतिहासिक भूमिकाबारे चर्चा गर्दै चौरसियाले २००७ सालदेखि हालसम्म भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताए। उनले २०५२ सालको जनयुद्ध र त्यसपछिको अशान्त अवस्थालाई समाधान गर्दै मुलुकमा शान्ति स्थापना गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरे।
“राजाको शासनविरुद्धको आन्दोलनका क्रममा म स्वयं चार महिना जेल बसेको हुँ,” उनले भने, “नेपाली कांग्रेस जनताको अधिकारका लागि जेल जान र छातीमा गोली थाप्न कहिल्यै डराएको छैन।”
आफ्नो घरमा भएको आगजनी, संसद् भवनलगायत राष्ट्रिय सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै चौरसियाले ती कार्यहरू ‘जेन जी’ युवाहरूले नभई उच्छृङ्खल र सुनियोजित तत्वहरूले गरेको दाबी गरे। उनले देशलाई रणभूमि बन्नबाट जोगाउन र साम्प्रदायिक द्वन्द्व फैलाउने बाह्य शक्तिहरूलाई परास्त गर्न यसपटक फेरि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे। “एकपटक फेरि विश्वास गरेर पर्सा लगायत देशभर कांग्रेसका उम्मेदवारलाई जिताउन चाहन्छु,” उनले भने।
कार्यक्रमकै क्रममा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका नेता सिँहासन पटेल लाई उम्मेदवार चौरसियाले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे।
वीरगन्ज–२६ का कांग्रेस सभापति सुरेश पटेल को अध्यक्षतामा तथा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार अजय चौरसियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, कांग्रेस केन्द्रीय सदस्य रामरुप कुर्मी, पर्सा कांग्रेसका उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहबुदिन, वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्र, नेता प्रेमचन्द्र दुबे लगायतको उपस्थिति रहेको थियो।
© 2024



