बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ भने परिवारका अन्य दुई सदस्य घाइते भएका छन्।
आक्रमणमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको ज्यान गएको हो। घटनामा सुमित्राका ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा मृतक परिवारकै बुहारी र अर्का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल फर्किएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा बुहारी र ती युवकबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि विवाद बढ्दै गएर योजनाबद्ध रूपमा आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ।
एक अनुसन्धान अधिकृतले भने, “घटनाका सबै पक्षबारे गहिरो अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणका आधारमा हत्या योजनाबद्ध देखिए पनि थप अनुसन्धानपछि मात्रै यथार्थ पुष्टि हुनेछ।”
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2024



