हरिवन, २४ बैशाख – सर्लाहीमा केही दिनदेखि जताततै आगलागीका घटना भइरहे पनि जिल्लामा एउटा मात्रै दमकल हुँदा समस्या परेको छ ।
दमकल अभावले आगलागी नियन्त्रणमा अप्ठेरो पर्न थालेको हो । अहिले जिल्लामा हरिवन नगरपालिकाको दमकल मात्रै चालू छ भने मलंगवाको दमकल बिग्रिएर बनाउन पठाइएको छ ।
गत बिहीबार विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित पूर्वारी टोलमा आगलागी भएपछि बेलैमा दमकल पुग्न नसक्दा ६० भन्दा बढी घर जलेर नष्ट भए ।
विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव बेलैमा दमकल आउन नसक्दा ठूलो क्षति हुन पुगेको गुनासो गर्छन् । उनले अब तीन÷चारवटा पालिका मिली दमकल किनेर चलाउन पहल गर्ने बताएका छन् ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ९कमल० ले एउटा दमकल चारैतिर दौडाउनुपर्दा भएकै दमकल चलाउन समस्या पर्न थालेको बताएका छन् । हरिवनसँग रहेको दमकल साझेदारीमा सन्चालन गर्न उत्तरी भेगका लालबन्दी, ईश्वरपुर, बागमती, हरिपुर र बरहथवा गरी ५ पालिकाले समझदारी गरेका छन् । यि पाँच पालिकाले दमकल सन्चालनबापत हरिवन नगरपालिकालाई वार्षिक तीन लाख रुपैयाँ भुक्तानी दिन्छन् ।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाका अनुसार गएको साउन १ गतेदेखि वैशाख १३ गतेसम्म हरिवन नगरपालिकाको दमकल नगरपालिकाभित्र भएका आगलागीबाहेक बाहिर ५८ ठाउँमा भएको आगलागी नियन्त्रणका लागि पुगेको छ । सापकोटाले महोत्तरीको बर्दिवास, गौशाला, रौतहटको चन्द्रनिगाहपुर, गरुडा, गुजारासम्म पनि आगो निभाउन दमकल पुगेको जानकारी दिए ।
हरिवन नगरपालिकाले दमकल संचालनका लागि दुई जना चालक नियुक्त गरेको छ भने आठ जना नगर प्रहरीलाई पालैपालो परिचालन गर्ने गरेको छ ।
सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले मलंगवामा दमकल संचालनका लागि नगरपालिका एक्लैलाई आर्थिक भार रहेको बताए । मलंगवा नगरपालिकासँग कुनै पालिका साझेदार बनेका छैनन् ।
कर्मचारीको तलब, भत्ता, दमकलको लागि आवश्यक इन्धन, मर्मतसम्भारलगायत सन्चालन खर्च मात्रै वार्षिक एक करोड २० लाख रुपैयाँ उठ्ने गरेको मलंगवा नगरपालिकाले जनायो । नगरपालिकाले दमकल संचालनका लागि दुई जना चालक र अन्य छ जना गरी आठ जना कर्मचारी राखेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आगलागी बढेर दमकल निरन्तर दौडाइरहनुपर्दा बारम्बार बिग्रिरहेको बताए । उनले एक साताअघि मर्मतका लागि हेटौंडा पठाइएको दमकल मर्मत भएर आउन अझै केही दिन लाग्न सक्ने बताए । सभार उज्यालो अभियान



