वीरगञ्ज । सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा शिविर सम्पन्न भएको हो ।
माट्रिका आई फाउण्डेशन वीरगञ्जको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ अलपाइन सेकेण्डरी स्कुलमा सम्पन्न शिविरमा २ सय जना ११ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा फाउण्डेशनका डा. मनोरञ्जन यादव लगायतको टोलीले आँखा परीक्षण गरेको केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफको अध्यक्षतामा शिविर सम्पन्न भएको हो । पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएको हुँदा विद्यार्थीहरुको आँखा चेकजाँचका लागि शिविरको आयोजना गरिएको अध्यक्ष सर्राफले बताए ।
आँखा जस्तो संवेदनशिल अंगलाई सुरक्षित तरिकाले हेरचाह गर्न आग्रह गर्दै यात्रा डेलीका प्रबन्ध निर्देशक समेत रहेका सर्राफले सामुदायिक सेवा केन्द्रमार्फत सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी गराए ।
अल्पाइन स्कुलका प्रधानाध्यापक बिनोद उपाध्यायले शिविरबाट विद्यार्थीहरु लाभान्वित भएको बताए ।



