वीरगञ्ज,३० फागुन । महोत्तरीको रामगोपालपुर नगरपालिका–५ की नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
छोरोको बिहेपछि पनि पटक–पटक दाइजो माग गरी यातना दिएको आरोपमा पक्राउ परेका चौधरीलाई जिल्ला अदालतल महोत्तरीले मंगलबार जेल चलान गरेको हो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई जेल चलान गरेको हो।
गत आइतबार पक्राउ परेका चौधरीलाई मंगलबार अदालतमा पेश गरिएको थियो। मंगलबार भएको थुनछेक बहसमा जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र सरकारी वकिल मनोजकुमार गुप्ताले बहस गरेका थिए।
यसअघि दाइजो लिएको आरोपमा नेहाका श्रीमान् पंकज चौधरीलाई पनि अदालतले जेल चलान गरिसकेको छ।
२०७८ साल फागुन २५ गते नेहा र पंकज चौधरीबीच सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो। विवाहको क्रममा पंकजको परिवारले एक करोडभन्दा बढी दाइजोसमेत लिएको थियो। तर पछि काठमाडौँमा पनि घर बनाइदिन भन्दै दबाब दिएको र नमानेपछि यातना दिएर थप दाइजो माग गरेको नेहाको आरोप छ।
सम्बन्ध बिग्रेपछि पंकजले सुरुमा डिभोर्स मुद्दा दर्ता गराएका थिए। त्यसपछि नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र परिवारका अन्य चार जना सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, माना चामल र अंश मुद्दा दायर गराएकी छन्।