वीरगञ्ज,०५ पुष । वीरगञ्जमा सोमबारदेखि निशुल्क स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी, मिनिल्याप) शिविर सुरु भएको छ । सोमबारदेखि सुरु भएको शिविर पुष ९ गतेसम्म सञ्चालन हुने छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १७ देखि ३२ सम्मका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर आयोजना गरिएको महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् ।
महानगरको ग्रामिण भेगलाई लक्षित गर्दै २ वटा स्थानमा शिविर राखेर सेवा दिइरहेको पनि उनले बताइन् ।
वडा नम्वर २५ को सिर्सिया स्वास्थ्य चौकी र ३० को लालपर्सा स्वास्थ्य चौकीबाट १६ वटा वडाका सेवाग्राहीलाई लक्षित गर्दै बन्ध्याकरण शिविर सन्चालन गरिएको हो ।
सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र लैजान वीरगञ्ज महानगरपालिका, जनस्वास्थ्य र मेरिस्टोप्सले सवारी उपलब्ध गराएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाले शिविरमा सेवा लिएका सेवाग्राहीलाई निशुल्क औषधीका साथै न्यानो कपडा उपलब्ध गराएको छ ।
शिविरमा अधिकांश महिलाले मात्रै स्थायी बन्ध्याकरण गराएको महानगरपालिकाको स्वास्थ्य महाशाखाकी लोहनीले जानकारी दिइन् ।