वीरगञ्ज, १ असार । साहिब दरबारको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी शुक्रबारदेखि वीरगञ्जमा निशुल्क योग शिविर सुरु भएको छ ।
शिविरको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।
शिविरको उद्घाटन गर्नुहुँदै महानगर प्रमुख सिंहले शरिर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उहाँले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताउनुभयो ।
हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप आफूहरुले काम गरिरहेको साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो ।
साहिब दरबारले योग शिविर मात्रै नभई भोली शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्दै छ ।
एक महिनासम्म चल्ने शिविरमा प्रतिमा सिंह र लालसा चौधरीले योग प्रशिक्षण दिइरहेका छन् ।
शिविर उद्घाटन कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य खैरुद्दिन मियाँ, वडा सदस्य कलाम मियाँ संगिता दास, बर्कतुन नेसा, डा. अरुण गुप्ता, महिला नेतृ जिनु मैयाँ त्वायना लगायतको सहभागिता रहेको थियो ।