वीरगञ्ज । आफूखुसी सरुवा र बढुवा माग गर्दै आन्दोलनमा उत्रिएका पर्साका शिक्षकहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलनबाट उपलब्ध नभएको बताउँदै शिक्षकहरुले आजदेखि दोस्रो चरणको आन्दोलनको थालनी गरेका हुन् ।
दोस्रो चरणको आन्दोलनको आज पहिलो दिन शिक्षकहरुले सामुदायिक विद्यालयमा छैठो र सातौँ घन्टी वहिष्कार गर्ने जनाएका छन् । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले मङ्गलबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
घोषित कार्यक्रमअनुसार शिक्षकहरुले आज जेठ १० गते सामुदायिक विद्यालयको छैठों र सातौँ घन्टी वहिष्कार गर्ने, भोली जेठ ११ गते टिफिन पछिको सबै घण्टी वहिष्कार गर्ने, पर्सी जेठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए जेठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप कार्यक्रम तय गर्ने तयारी गरेका छन् ।
पहिलो चरणको आन्दोलनमा शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गराउनेदेखि वीरगञ्ज महानगरपालिकाको मूलगेटमा दुई दिन धर्ना दिएका थिए ।
आन्दोलित शिक्षककाअनुसार पर्सा जिल्लाका विभिन्न स्थानीय तहले नियम विपरित आफूहरुको सरुवा, घटुवा लगायतका काम गरेका छन् । महासंघका अध्यक्ष तिर्थराज यादवकाअनुसार राजनीतिक स्वार्थ पूर्ति र आफ्ना आसेपासेलाई राम्रो ठाउँमा पुर्याउने उद्देश्यका साथ गरिएको सरुवा र बढुवाको विरोधमा आफूहरुले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरेपनि सुनुवाई नभएपछि दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ ।
यादवले सङ्घीय शिक्षा ऐन, जारी नभएको अवस्थामा शिक्षा ऐन, २०२८ र नियमावली २०५९ को व्यावस्थाअनुसार नियुक्ति भएका शिक्षकहरुलाई स्थानीय तहरुले अधिकार क्षेत्रभन्दा नियम विपरित राजनीतिक आग्रह, पूर्वाग्रह राखेर सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई मनमौजी सरुवा गर्ने, घटुवा गर्ने र मानसिक यादना दिने समेतको काम भएको बताए । ‘हामीलाई दु:ख दिन उद्देश्यले सरुवा, बढुवा, घटुवा गरेपछि हामी विरोध गर्न बाध्य भएका हौँ,’ अध्यक्ष यादवले भने, ‘सुरुमा ज्ञापन पत्र बुझाएर आफ्नो माग राख्यौँ तर त्यसको वेवास्ता गरियो । अनि हामी विरोधका कार्यकम सार्वजनिक गर्न बाध्य भयौँ ।’
यता वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षकहरुको सुरवामा कुनै नियम, ऐनको उलङ्घन नभएको दावी गरेका छन् । ‘नियमसम्मत आवश्यकता र कार्य मूल्याङ्कण गरेर हामीले शिक्षकहरुको सरुवा, बढुवा र घटुवा गरेका छौँ,’ प्रमुख सिंहले भने, ‘शिक्षकहरु अनुसार महानगरले आफ्नो काम गर्दैन । महानगरले जहाँ जुन शिक्षकको आवश्यकता देख्छ त्यहाँ सरुवा गर्ने अधिकार राक्छ ।’ शिक्षकहरु आफ्नो अनुकूल विद्यालय र शैक्षिक संस्थामा काम गर्न खोजेको आरोप पनि प्रमुख सिंहले लगाए ।