वीरगञ्ज । वीरगञ्जको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् ।
विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरुप महानरपालिकाले स्पष्टिकरण सोधेको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिनुभयो ।
विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टिकरण माग गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
महानगरप्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरु लागेको बताउनुभयो ।
यस्तै महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नम्वर १४ पिपरामा रहेको नृसिंह माद्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ ।
दुबै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अग्रेजी माद्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उहाँले बताउनुभयो । यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उहाँले बताउनुभएको थियो ।
अनुगमनमा महानगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायत रहनु भएको थियो ।