वीरगंज, ०३ पुष । सवारी दुर्घटनामा परेर पर्सामा एकजना शिक्षकको मृत्यु भएको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ स्थति श्री सुकई साह माध्यमिक विद्यालयमा कार्यरत ३५ बर्षिय रामनरेश प्रसाद कुशवाहाको शनिबार सवारी दुर्घटनामा परेर मृत्यु भएको हो ।
भारत बिहारको रामनगरमा ट्रकको ठक्करबाट सोही गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी शिक्षक कुशवाहाको शनिबार दिउँसो ३ बजेको करिबमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामनगरस्थित चिनिमिल अगाडीको सडकमा मोटरसाइकलमा सवार उनलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक रामनगर चिनिमिल कै रहेको वताइएको छ ।
स्थानियका अनुसार शिक्षक कुशवाहा शुक्रबार रामनगर पुगेका थिए । रामनगरबाट शनिबार मोटरसाइकले घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
कुशवाहाको निधन भएको शोकमा कालिकामाई गाउँपालिकाले आइतबार विदा दिएको छ । गाउँ कार्यपालिकाका कार्यालयले आइतबार एउटा सूचना जारी गर्दै सवारी दुर्घटनामा परि ज्यान गुमाएका कुशवाहाको निधनले सिंगो कालिकामाई गाउँपालिकालाई स्तब्ध तुल्याएको बताउँदै आइतबार विदा दिएको हो ।