वीरगंज । पर्साको एक सरकारी विद्यालयका करिब दुइ दर्जन विद्यार्थीहरु अचानक बेहोस भएका छन् ।
विहानको प्रार्थना सकेको एक घण्टा नबित्दै कालिकामाइ गाउँपालिका वडा नम्बर–४ स्थितका श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थीहरु धमाधम बेहोस भएका हुन ।
कालिकामाइ गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार विहान एकाएक विद्यार्थीहरु बेहोस भएका हुन ।
उनले भने, ‘स्कुलको प्रार्थना सकेको थियो, त्यसको केही बेरमा विद्यार्थीहरु बेहोस हुन थाले ।’
सुरुमा एकजना विद्यार्थी बेहोस भएको थियो, त्यसपछि धमाधम विद्यार्थीहरु बेहोस हुन थाले । उनका अनुसार करिब २० जना विद्यार्थी एकाएक बेहोस भएका हुन ।
कक्षा ६देखि १० सम्मका विद्यार्थी बेहोस भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । तर एकजना विद्यार्थीको भने अवस्था गम्भीर रहेको उनले जनाए ।
गम्भीर विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाँकी बेहोस भएका विद्यार्थीहरुको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालहरुमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ ।
‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरु बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन् ।