वीरगञ्ज । सरकारले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । गर्भमा लिंगको पहिचान गरेर वा गराए एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।
“कसैले गर्भमा रहेको भ्रणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने”, सूचनामा उल्लेख गरेको छ ।
मन्त्रालयले छोरीको जन्म सुनिश्चित गरेर विभेदपूर्ण लिंग छनौट अन्त्य गर्न आग्रह गरेको हो । यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।
मन्त्रालयका उपसचिव एकदेव खनालका अनुसार गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई त्यस्ता गतिविधि नहुने वातावारण तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।