वीरगञ्ज,१३ पुष । कठ्याग्रिदो जाडो बढेसँगै वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ । ३२ वटै वडाका वडाअध्यक्षको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न महानगरले दाउरा उपलब्ध गराएको छ ।
बुधबारदेखि फेरि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको महानगरका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।
महानगरले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ सय क्विन्टल दाउराको व्यवस्था गरेको छ । यस्तै महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु पनि जम्मा गरेको राखेको छ ।
आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै महानगरप्रमुख सिंहले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।
महानगरले बजार क्षेत्रमा आदर्शनगर चोक, घण्टाघर, माइस्थान चोक, मुरलीचोक, छपकैयाँ, विर्ता, पुरानो बसपार्क, मालपोत चोक लगायतका स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।