लुम्बिनी — प्रेमविवाहको निर्णय उनीहरूका लागि आफैंमा साहसिक निर्णय थियो । लुकीछिपी गरेको प्रेमलाई विवाह बन्धनमा बाँधेर रूपन्देहीको तिलोत्तमा–१७ का दम्पती सुरुका केही वर्ष निकै खुसी थिए । तर, जति वर्ष बिते, उति नै अर्को चिन्ता बढ्यो, सन्तान नहुनुको । जोडी बाँधेको ११ वर्ष बित्यो । दुस्खको केन्द्र छ निस्सन्तानपना ।
सन्तानको आसमा उनीहरूले बेहोरेका हैरानीको लामो कथा छ । खान, लाउनको संघर्ष त गरेकै थिए । स्याङ्जा घर भएका उनीहरू विवाहपछि रोजगारीका क्रममा जोडी नै डेढ वर्ष भारत बसेर फर्के । त्यसपछि श्रीमान् रोजगारीका क्रममा कोरिया गए । तर त्यही बेला श्रीमतीको मनोरोग झनै बल्झियो । निस्सन्तान हुनुको पीर त थियो नै, छोराछोरी छैनन् भनेर चिने–जानेकाले गर्ने प्रश्न, आफन्तले राख्ने चासोले उनलाई बारबार आहत तुल्याउँथ्यो । पत्नीको बिग्रँदो स्वास्थ्यकै कारण युवकले उनलाई माइती नजिकै डेरा खोजेर राखिदिएका थिए । तर पनि समस्या सुल्झिएन । उनले भने, ‘श्रीमतीको स्वास्थ्य बिग्रिँदै गए पनि भन्नेबित्तिकै न आउन सकें, न त सम्झाउन नै ।’ चारवर्षे रोजगारी सकेर स्वदेश फर्केपछि उपचारका क्रममा उनले थाहा पाए, पत्नीलाई मानसिक रोगको समस्या गहिरिइसकेको रहेछ ।
शंकापूर्ण सामाजिक व्यवहार, पेचिला पारिवारिक प्रश्न र विभेदका कारण उनमा मानसिक समस्या बढेको देखिन्छ । पछिल्ला दुई वर्षयता उनी चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै छिन् । युवकले बह पोखे, ‘धेरै औषधि गरियो, सबका कुरा सुनेर जे–जे गर्नुपर्छ गरियो तर केही पार लागेन ।’ हिजोआज उनलाई एउटा मात्र सन्तान भइदिए श्रीमती निको हुन्थिन् भन्ने लाग्छ । ‘जसले देखे पनि अब बेला भएन र रु किन बच्चा नजन्माएको भन्ने प्रश्नको ओइरो लगाउँछन्,’ उनले भने, ‘श्रीमती कसैका बच्चा देखेर भक्कानिन्छे, उसले नदेखोस् भनी म एक्लै कोठामा रुन्छु ।’
कुनै पनि जोडीका लागि सन्तान रहर हो । कुनै शारीरिक समस्याका कारण हुन सकेन भने चिकित्सकीय परामर्शमा पुगेकै हुन्छन् । निस्सन्तान हुनु रहर होइन । तर विवाहको केही वर्ष बितेपछि पनि सन्तानको रहर नगर्ने वा नभएका दम्पतीलाई समाजले तिखो कटाक्ष मात्र गर्दैन, अवगालयुक्त व्यवहार पनि गर्छ । आफन्तले नै प्रश्न गर्छन् । माथि उल्लिखित जोडी समाजमा भएका धेरै निस्सन्तानमध्येका प्रतिनिधि पात्र हुन् । सामाजिक, पारिवारिक प्रश्न र आक्षेपले दम्पतीको आत्मसम्मानमाथि चोट पुग्छ । सन्तानको आसमा वर्षौं भौंतारिएका दम्पतीहरू सामाजिक व्यवहारका कारण मानसिक समस्या भोगिरहेका छन् । तिलोत्तमा–६ का एक दम्पतीले सन्तानको आसमा खर्चेको २२ वर्ष जीवनभरिलाई पुग्ने गरी थकानको विषय बनेको बताए ।
१५ लाख रुपैयाँ खर्च गरेर धेरै अस्पताल, धामीझाँक्री, आयुर्वेदिक औषधालय धाउँदा पनि बच्चा नभएकाले हार मानेको उनीहरूले बताए । ‘हामीले जसले जे भन्यो, ती सबै उपाय अपनायौं,’ उनीहरूले भने, ‘केही उपाय लागेन, मानसिक रोगी बन्यौं, औषधि चलिरहेको छ ।’ सामाजिक अवगाल र मानसिक अशान्तिबाट बच्न सकिन्छ कि भनेर यो दम्पती अहिले एक धार्मिक समूहको संगतमा पुगेको छ । ‘चाहेर मात्र नहुने रहेछ,’ उनीहरूले भने, ‘रुँदा–रुँदा आँखा थाके, सुन्दा–सुन्दा कान टट्याए । तर, हामीले सन्तानको खुसी पाउन सकेनौं ।’
घरका अन्य सदस्यका सन्तान खेलाउनसमेत बच्चा नभएकी भनेर नदिने कारणले धेरै पटक एकान्तमा रोएको, मर्ने प्रयास गरेको र श्रीमान्रश्रीमतीबीच मनमुटाव पनि भएको पत्नीले बताइन् । अनेकौं चोट सहँदा पनि जोडीमा एकअर्काप्रतिको विश्वासकै कारण आफूहरू जिउन सकेका उनीहरूले बताए । उनले भनिन्, ‘अहिले एकअर्काको सहारा बनेर दिन बिताइरहेका छौं ।’
यी दम्पतीहरूको भन्दा भिन्नै भोगाइ छ रूपन्देहीको दक्षिण मधेस क्षेत्रका निस्सन्तानको समस्या । कोटहीमाई गाउँपालिका–३ मा एकै घरमा तीन निस्सन्तान दम्पती छन् । उमेरले ४० नाघेका उनीहरूले सन्तानको आसमा चिकित्सकले भनेअनुसारको औषधि सेवन गरिरहेको बताए । चार दाजुभाइमध्ये जेठोका मात्रै सन्तान भएको र अन्य तीन भाइको सन्तान नभएपछि उनीहरू सबैले अनेकन सामाजिक अवगाल बेहोरिरहेका छन् ।
तीनमध्ये माइला जोडीले औषधि उपचारमा ५ लाख बढी खर्च गरेको सुनाए । बुटवलबाहेकको अस्पताल नगएका उनीहरूले अन्यत्र जाने पैसा नभएकाले वर्षौंदेखि एउटै अस्पतालमा एउटै चिकित्सकलाई देखाइरहेको बताए । वर्षौंदेखि सन्तानको आसमा अस्पताल धाउँदा–धाउँदै श्रीमतीलाई मानसिक समस्याजस्तो लक्षण देखिएको छ । माइलाले भने, ‘मानसिक समस्या जस्तो छ, न माइती आफन्त, न त सडक किनारा, बच्चाको कुरा हुने र बच्चा देखिने ठाउँमै कम बस्छे ।’ घरछेउ सानो किराना पसलबाट जोगाएको सबै कमाइ उनले औषधोपचारमा खर्चेर सकेको बताए । पछिल्ला केही समययता भने आफू वर्षको तीन महिना भारतमा काम गर्न जाने र कमाएको पैसा उपचारमा खर्च गर्ने गरेको उनले सुनाए ।
उनका ४५ वर्षीय साइँलाको पनि कथा उनको भन्दा फरक छैन । निस्सन्तान दम्पतीका रूपमा उनीहरूले भोगेको सास्ती, उपचारमा क्रममा भएको ठूलो खर्च दुवैले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाएको छ । ‘औषधिले नै फाइदा गर्छ भन्दै वर्षौंसम्म त्यसैमा भर परें,’ उनले भने, ‘केही भएन, पैसा सकियो, अनि म विदेश पसें ।’ १२ वर्ष साउदी अरब बसेर फर्किएका उनले सन्तानका लागि पैसा कमाउन गएको बताए । बीचमा आउने, जाँच गराउने, प्रयास गर्ने गरे पनि सन्तान नभएको उनले सुनाए । उनकी पत्नीलाई सधैं सन्तान नभएको पिरलोले छोपेको छ । स्थानीय महिलालाई सिलाइकटाइको तालिम दिने उनले आफूलाई यही पीरले काममा मन नलाग्ने सुनाइन् । बाटोमा स–साना केटाकेटी देखे पनि आफूलाई भक्कानो छुट्ने गरेको उनले बताइन् । समाजले गर्ने प्रश्न र हेलाहोचोको व्यवहारले आजित भएको बताउँदै उनले भनिन्, ‘बाँझी आई भन्छन्, म कसैसँग बोल्न सक्दिनँ । यस्तो सुन्न बानी परे पनि प्रत्येकपल्ट मन रुन्छ । पीडा त हुन्छ नि †’
माइला र साइँलाजस्तै कान्छाका दम्पती पनि निस्सन्तान हुनुको पीडा भोग्दै छन् । उनीहरूले पनि सामाजिक प्रश्न र अवगाल सहेर बाँचिरहेको सुनाए । ‘बालबच्चा देख्दा दुवै जना रुन्छौं,’ उनले भने, ‘आफ्नो काख रित्तै भएको व्यथा कसले देख्छ रु’ यी तीन दाजुभाइको छिमेकमै छन्, उस्तै कथाव्यथा भएका अर्का एक जोडी । विवाहको १० वर्ष भयो, सन्तन छैन । श्रीमतीले हिजोआज उनलाई ‘अर्को बिहे गर्नुस्’ भन्न थालेकी छन् । ठेलामा फलफूल बेचेर गुजारा गर्ने युवकले वर्षांैदेखि दुस्ख गरेर कमाएको पैसा उपचारमा खर्चेर सक्दा पनि उपलब्धि नभएको दुखेसो गरे । ‘केही पैसा जम्मा हुन्छ र श्रीमतीले औषधि गर्न खोज्छे,’ उनले भने, ‘मैले जग्गा जोडेर घर बनाम्ला भनेको सक्ने भइनँ ।’ निस्सन्तान हुनुको पीडा आफूले भन्दा श्रीमतीले धेरै भोगिरहेको उनले बताए । उनले भने, ‘निस्सन्तान जोडीलाई समाजले घोचपेच गरेरै बिरामी पार्ने रहेछ ।’
निस्सन्तान दम्पतीमा बढी घोचपेच महिलालाई गरिन्छ । तर कारण महिलाकै मात्र शारीरिक समस्या नभई पुरुषको पनि कमजोरी कारण हुने गरेको छ । सन्तान नहुनुका धेरै कारणहरू हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। विष्णु गौतम बताउँछन् । निस्सन्तानलाई भाग्य वा पाप अथवा धर्मसँग जोडेर हेर्ने गरे पनि डा। गौतम डिम्बाशय, पाठेघर तथा नलीमा हुने समस्याले बच्चा नरहने समस्या हुने प्रस्ट पार्छन् । उनका अनुसार पाठेघर, नली र डिम्बाशयमा हुने ट्युमर, क्यान्सर, नलीमा पिप जम्ने, थाइरोइड, डिम्बाशयमा रगत जम्नेजस्ता लक्षणले बच्चा नजन्मने समस्या आउन सक्ने उनले बताए । क्षयरोग र महिनावारी जन्मजात नै गडबडी भएमा समेत बच्चा जन्माउन सक्ने क्षमता नरहने पनि कारण हुने उनको भनाइ छ । ‘सन्तान जन्माउने क्षमता नहुनुका पछाडि महिला मात्रै जिम्मेवार नभएर पुरुष पनि जिम्मेवार हुन्छन्, यसका अनेकन स्वास्थ्यजन्य कारणहरू जिम्मेवार हुन्छ,’ उनले भने ।
पुरुषमा हुने अण्डाशयको समस्या, शुक्रकिट बन्ने प्रक्रियामा हुने समस्या, गानोरिया, भिरिंगीजस्ता रोगका कारण पनि बच्चा नबस्ने समस्या आउन सक्ने डा। गौतमले बताए । रूपन्देहीलगायत नेपालका हरेक जिल्लाका दम्पतीले ‘ए लेभल’ को उपचार गरे पनि निरन्तर खर्च गर्ने बजेट प्रविधिअनुसार बढ्दै जाने तर आफूहरूको आर्थिक स्थिति बलियो नहुने भएकाले एकरदुई पटकमै जाँच गराउन छोड्ने गरेको उनको भनाइ छ । ‘जाँच राम्रो नभई समस्या पत्ता लाग्दैन,’ उनले भने ।