काठमाडौं – मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएका ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मजदुर किसान संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित कम्तिमा ४५ जना पीडितलाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीविरुद्धको आन्दोलनमा उत्रिएकालाई कीर्तिपुर प्रहरीवृत्तमा राखिएको छ । आन्दोलनका क्रममा प्रहरीले पीडितलाई लाठी चार्ज, बुट प्रहार समेत गरेको थियो ।
चन्द्रागिरी( १५ तिनथानास्थित टहरामा बस्दै आएका मिटरब्याजी पीडितहरुको आन्दोलन रोक्न प्रहरीले सो स्थानमा घेरा हालेको थियो । आन्दोलनकारीहरु किर्तिपुर बजारबाट नाराजुलुस गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए । सो क्रममा उनीहरुलाई नयाँबजार गेट नजिकैबाट नियन्त्रणमा लिएको हो ।
मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नु पर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने पीडितको माग छ । संघर्ष समिति अध्यक्ष गुप्ताले माग पूरा नभएसम्म घर नफर्किने बताए ।
मिटरब्याजीको पीडा खप्नै नसकेर देशैभरीका पीडितहरु न्याय माग्न ४० दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन् ।