चितवन,२५चैत । पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जिपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।
इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जिपलाइनको उद्घाटन गरेका हुन् । जिपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जिपलाइनले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । गण्डकीका अध्यक्ष राना मगरले जिपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताउनुभयो । जिपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जिपलाइन विश्वकै नमूना भएको बताउनुभयो । उहाँका अनुसार ५५८ मिटर लामो उक्त जिपलाइन चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ । नेपाली नागरिकका लागि एक हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उहाँले जानकारी दिनुभयो ।