वीरगञ्ज — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पर्साले टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
बुधबार वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन पर्साले प्रतियोगिताबारे जानकारी दिएको हो। प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध ४० विद्यालय सहभागी हुनेछन्। प्रतियोगिता माघ ८ गतेदेखि सुरु हुनेछ। सबै खेल १५–१५ ओभरका हुनेछन् भने दैनिक तीन खेल सञ्चालन गरिनेछ। क्रिकेटतर्फ कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजन नेपाल मेडिसिटी अस्पतालले गरेको छ।
यस्तै, जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि मधेश प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। फुटबलतर्फ २१ विद्यालय सहभागी हुनेछन्। आयोजकका अनुसार ४ फिट १० इन्चसम्म उचाइ भएका विद्यार्थीलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। फुटबल प्रतियोगिताको प्रायोजन राज होजियारीले गरेको छ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई क्षमता प्रदर्शनको अवसर दिनुका साथै विद्यार्थीलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता प्रतियोगिताले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ।
पुरस्कार विवरण
क्रिकेटतर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिनेछ।
फुटबलतर्फ विजेताले ८ हजार, उपविजेताले ६ हजार र तेस्रो टोलीले ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताको उद्घाटन सत्रमा ३० विद्यालयको मार्चपास समावेश गरिनेछ, जसमा विभिन्न भाषा, संस्कृति र भेषभूषा झल्काइने आयोजकले जनाएको छ।
माघ ८ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीको २५ हजार रुपैयाँ बराबरको बीमा गरिएको छ। प्रतियोगिता आयोजना गर्न करिब १२ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्याब्सन पर्साले विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुदमा समेत सक्रिय गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



