वीरगन्ज । उमेरले पाँच दशक पार गरिसकेकी पुनिया देवीको अनुहार शनिबार खुशीले उज्यालिएको थियो, जब प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गणेश अर्यालले आफ्नै घरको आँगनमा पुगेर नागरिकताको प्रमाणपत्र थमाइदिए।
भारतमै माइती भएकी पुनियासँग नागरिकता बनाउने कागजातहरू जुटाउन कठिन थियो, श्रीमान्ले समेत चासो नदेखाएको बताउँदै उनले भनिन्, ूआज म धेरै खुशी छु, अब म पनि नेपाली नागरिक भएँ।ू
पर्सा जिल्लाको सबैभन्दा दुर्गम मानिने ठोरी गाउँपालिका–३ स्थित शिकारीवास पुगेर प्रमुख जिल्ला अधिकारी अर्यालले शनिबार पुनिया देवीसहित ८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा आयोजित एकीकृत सेवा कार्यक्रम अन्तर्गत सोना देवी, सीता देवी, फुलमति कुमारी थारु, गुञ्जा थारु, राहुल चौधरी, विशाल चौधरी र सोनिया चौधरी समेतलाई नागरिकता प्रदान गरिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट केही दिनअघि खटिएको टोलीले आवश्यक कागजात संकलन गरेपछि प्रक्रियागत काम सम्पन्न गरी उनीहरूको घरदैलोमै गएर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
शिकारीवास, झण्डै १५० वर्ष पुरानो बस्ती हो, जुन चितवन राष्ट्रिय निकुञ्जको बीच जंगलमा अवस्थित छ। यहाँका करिब ७० घरधुरी विशेषतः थारु समुदायका छन्।
हालसम्म यहाँ सडक, बिजुली, खानेपानी जस्ता आधारभूत सेवाहरूको पहुँच छैन। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डबाट करिब पाँच किलोमिटर लामो कच्ची बाटो हुँदै मात्र यहाँ पुग्न सकिन्छ। वर्षाको समयमा खोलामा बाढी आउँदा बस्ती सडक सम्पर्कबाट पूर्णरूपमा टुट्ने गरेको छ।
सरकारी सेवा र सुविधाबाट टाढिएको यो क्षेत्रको नागरिकहरूलाई घरमै पुगेर नागरिकता वितरण गर्नु ऐतिहासिक प्रयासका रूपमा हेरिएको छ।



