सिरहा – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको शुद्ध र सुरक्षित खानेपानीको सपना साकार भएको छ। बिहीबार खानेपानी मन्त्री प्रदीप यादवले डावरटोल–नैनपुरटोल खानेपानी आयोजना उद्घाटन गर्दै सेवा औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।
मन्त्री यादवले उक्त आयोजनाले हजारौँ नागरिकलाई सुरक्षित पानीको अभावबाट मुक्ति दिलाएको बताए। “यो नागरिकप्रति सरकारको प्रतिबद्धताको स्पष्ट उदाहरण हो,” उनले भने।
१० करोड ९४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना पाँच वर्षमा सम्पन्न भएको हो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका प्रमुख हरिप्रसाद शर्माका अनुसार आयोजनाबाट करिब १,५०० घरधुरीका ८,६०० नागरिक लाभान्वित हुनेछन्।
मन्त्री यादवले आयोजनाले स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामुकुमार श्रेष्ठ, मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधनप्रसाद सिंह तथा नगरप्रमुख शिवशंकर महतो लगायतले आयोजना सफलताको प्रसंसा गरे।
खानेपानी विभागका अनुसार तराई-मधेसका २८० अधुरा योजनाहरूलाई शीघ्र कार्यान्वयन गर्न नीति संशोधन हुँदैछ।



