सर्लाही — तराईका जिल्लामा प्रहरीप्रति बढ्दो जनविश्वासका बीच सर्लाहीमा प्रहरीले नै भ्रष्टाचारका आरोपले छवि धुमिल पार्ने खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हनुमान राउत अहिरमाथि मुद्दा मिलाउने नाममा रकम असुली गरेको गम्भीर आरोप लागेको छ।
पीडितहरूले बताएका छन् कि सई राउतले मुद्दा बलियो वा कमजोर बनाउने बहानामा दुवै पक्षसँग बार्गेनिङ गरी रकम असुली गर्ने गरेका छन्। कतिपय अवस्थामा उनले पीडित र पीडक दुवैबाट पैसा मागेको समेत आरोप छ। एक पीडितले त राउत आफैं घरमै आएर मानसिक दबाब दिँदै रकम मागेको दाबी गरेका छन्।
सिराहामा सरुवा भइसके पनि उनले अझै सर्लाहीमै ‘काज’ मिलाएर प्रभुत्व जमाइरहेको खबर छ। प्रहरी संगठनभित्र भ्रष्टाचार नियन्त्रण र जनमैत्री व्यवहारको अभियान अघि बढिरहेकाबीच यसले प्रहरीप्रति जनविश्वासमा ठेस पुर्याउने खतरा देखिएको छ।
अब उच्च तहबाट छानबिन गरी कारबाही हुने अपेक्षा गरिएको छ।



