वीरगंज — नेशनल मेडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भूतपूर्व प्रहरी तथा उनीहरूका आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य सेवा शुल्कमा ८ देखि ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
आज नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा मेडिकल कलेजका तर्फबाट प्रबन्धक शहानवाज अन्सारी र प्रहरी तर्फबाट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हस्ताक्षर गरेका छन्।
के-केमा कति छुट?
प्रबन्धक अन्सारीका अनुसार, छुटको विवरण यस्तो छ:
बहालवाला प्रहरी कर्मचारीहरूका लागि:
ओपीडी टिकटक: ५०% छुट
बेड, केबिन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्ज: २५% छुट
भिडियो एक्सरे, एक्सरे, इसिजी लगायतका सेवा: २५% छुट
भूतपूर्व प्रहरी र आश्रित परिवारका लागि:
ओपीडी टिकटक: ५०% छुट
बेड, केबिन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्ज: २०% छुट
भिडियो एक्सरे, एक्सरे, इसिजी लगायतका सेवा: २०% छुट
स्वास्थ्य सुरक्षाको सम्मान
सम्झौताको उद्देश्य सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्दै उनीहरू र उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउनु रहेको प्रबन्धक अन्सारीले बताए।
सम्झौता हस्ताक्षर कार्यक्रममा कलेजका सञ्चालक प्रो. डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुबास भट्ट लगायतको उपस्थिति थियो।



