वीरगंज –
वीरगंज महानगरपालिका–१ स्थित श्री रामदेनी तिवारी निमावि (आ.वि.) का शिक्षक चन्देश कुमार चौहानले नक्कली शैक्षिक प्रमाणपत्रमार्फत पदोन्नति लिएको पुष्टि भएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौहानले २०६० साल मङ्सिर ५ गते अंग्रेजी विषयको तृतीय श्रेणी शिक्षकको रूपमा स्थायी नियुक्ति पाएका थिए। २०७० साउन ८ मा ‘MAGADH UNIVERSITY, BODH-GAYA’ बाट B.A. (Hons.) पास गरेको भन्दै प्रमाणपत्र पेश गरी दोस्रो श्रेणीमा पदोन्नति लिएका थिए।
तर प्रमाणपत्र झुट्टा निस्कियो !
उक्त शैक्षिक प्रमाणपत्र झुट्टा भएको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणित नहुनुका साथै, कागजात पूर्ण रूपमा नक्कली भएको खुलेपछि चौहानले गैरकानूनी लाभ लिएको पुष्टि भएको हो।
भ्रष्टाचार ऐनअन्तर्गत मुद्दा
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम चौहानमाथि कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
पद, सेवा र सुविधामा गैरकानूनी लाभ !
नक्कली प्रमाणपत्रको आधारमा सरकारी सेवा, पदोन्नति र आर्थिक सुविधा लिएको पुष्टि भएपछि शिक्षक चौहानमाथि अख्तियारले कडा कारबाहीको माग गरेको छ।



