वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग छलफल गरेको छ ।
महानगरपालिकाको व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली, र भवन नक्सा पास तथा यहाँको पर्यटकीय गतिविधि प्रवद्र्धन लगायतका विषयमा छलफल भएको हो ।
छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिका भित्र संचालनमा रहेका होटल अनिवार्य रुपमा व्यवसाय दर्ता गराएर मात्रै संचालनमा ल्याउन व्यवसायीहरुलाई आग्रह गरे । यसका साथै घर बहाल र सम्पत्ति कर समेत समयमै तिरी महानगरलाई समृद्ध बनाउन व्यवसायीको सहयोगको आवश्यकता औँल्याए ।
महानगर व्यवसायमैत्री वातावरण बनाउन उद्दत रहेको भन्दै उनले त्यसका लागि करको दायरा बढाउने र दरमा हेरफेर गर्न तयार रहेको उल्लेख गरे । प्रमुख सिंह भन्छन्, ‘महानगरले करको दायरा बढाउने नीति लिएको छ, तर त्यसका साथसाथै करको दर यथोचित बनाउने छौं । हामी व्यवसायीलाई थप बोझ होइन, सहजता दिने नीति लिएका छौं ।’
यसका साथै हाल विभिन्न स्थानहरूमा पार्क निर्माण गर्नुका साथै शहरी सौन्दर्यकरणको काम गरिरहेको छ, जसले पर्यटकका लागि शहरलाई घुम्न योग्य र आकर्षक बनाउने अपेक्षा गरिएको पनि उनको भनाई छ ।
सिंहले आगामी नीति तथा कार्यक्रममा निजी क्षेत्र, विशेषतः होटल व्यवसायीहरूको सुझाव प्राथमिकताका साथ समेटिने पनि स्पष्ट पार्नुभयो । उनले व्यवसाय दर्ता, कर प्रणाली र सेवाहरू डिजिटल बनाउन ‘एकद्वार सेवा प्रणाली’को तयारी भइरहेको जानकारी गराए ।
होटल क्षेत्र महानगरको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनले व्यवसायीहरूलाई सघाउन महानगर जहिल्यै तयार भएको बताए ।
आगामी नीति तथा कार्यक्रममा व्यवसायीहरूको सुझाव समावेश गरिने उल्लेख गर्दै व्यवसायमैत्री सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता नगरप्रमुख सिंहको छ ।
यस्तै छलफलमा सहभागि होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरु व्यवसाय दर्ता गरेर कानुनी रुपमा व्यवसाय संचालन गर्न तयार रहेको भन्दै त्यसका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
उनी भन्छन्, ‘हामी व्यवसायीहरू कानुनी रूपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न पूर्णतः तयार छौं । तर, दर्ता प्रक्रिया सरल र छिटो बनाइदिनुपर्यो । अहिलेको जटिल प्रक्रिया सुधारिए व्यवसाय दर्तामा कुनै समस्या हुँदैन ।’
‘महानगरको तर्फबाट हुने सकारात्मक पहल र सहजीकरणले व्यवसायीहरूलाई आत्मविश्वास दिएको छ र हामी महानगरसँग सहकार्य गर्न इच्छुक छौं,’ उनले भने ।
अध्यक्ष पन्तले पर्यटन प्रवद्र्धनमा संस्कृतिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै कल्चरल कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याए ।
‘वीरगंजलाई पर्यटकीय गतिविधिमा चलायमान बनाउन सके होटल व्यवसायमा प्रत्यक्ष फाइदा पुग्नेछ । कल्चरल कार्यक्रम, मेलामहोत्सव, र गन्तव्य प्रवद्र्धनका क्रियाकलाप ल्याउन सके शहरको आर्थिक र सामाजिक गतिशीलता बढ्नेछ’, उनले भने ।
यस्तै होटल व्यवसायी माधव वस्नेतले व्यवसायीहरूले व्यवसाय दर्ता गर्नुपूर्व धेरै चरण पार गर्नुपर्ने, कर प्रणाली बुझ्न कठिन हुने र नक्सापास प्रक्रियामा झन्झट हुने जस्ता व्यवहारिक समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे ।
वीरगन्ज जस्तो व्यापारिक सहरमा व्यवस्थित होटल सेवा महानगरकै पहिचान बन्नुपर्नेमा छलफलका सहभागीहरूको जोड थियो ।
छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरब झा तथा यहाँ संचालित होटलका संचालकहरुको सहभागिता रहेको थियो ।



