वीरगञ्ज,२९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेस रिजालले कसैलाई कुनै पनि दया नगरी गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।
नेपाल शिक्षक संघ पर्साले वीरगञ्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
‘अहिले जहाँबाट उम्मेद्वार भए पनि पहिलाहाम्रै संगठनमा थियो उसलाई सहयोग गर्छु भन्ने दया देखाउन जरुरी छैन,’ उनले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्नुहोस् ।’
अहिलेको लडाई भनेको संविधान बिरोधीसंगको लडाई रहेको भन्दै उनले संविधान विरोधी, संघीयता विरोधी अनि मधेस र मधेसी विरोधीलाई मतदानबाट जनताले ठेगान लगाउनु पर्ने बताए ।
पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेद्वार समेत रहेका रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।
कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३(ख) का उम्मेद्वार जनार्दन सिंह क्षेत्री, रामनारायण कुर्मी, श्याम पटेल लगायतको सहभागिता थियो । कार्यक्रम संघका अध्यक्ष प्रदीप जैसवारको सभापतित्वमा सम्पन्न भएको हो ।