स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतवार वीरगन्ज महानगरको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला समन्पय समितिको कार्यालय परिसरमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन आइतवार वीरगन्जको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
मेयर पदका लागि नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक एक जना गरि राजनीतिक दलबाट दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोनयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयर पदका लागि भने पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए । पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
ती मध्ये नेकपा एकीकृत समाजवादी, राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका एक एक जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए । यसैगरि महानगरको दुइ वडा सदस्य पदका लागि २९ जनाले, महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए । नेपाली काँग्रेस , नेकपा एमाले,जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमवारको समय लिएको पौडेलले जानकारी दिए
वीरगन्ज महानगरमा छुटटा छुट्टै दुइ गठबन्धन गरेका प्रमुख दलहरुले मेयर,उपमेयर र वडा अध्यक्षका उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेका कारणले सोमवार मनोनयन दर्ता गराउने भएका हुन् ।
© 2024